सिन्धुली। नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम तामाङले जुनसुकै मुल्य चुकाएर भएपनि एमसीसी नेपालमा कार्यान्वय गर्न दिन नहुने कुरामा जोड दिएका छन् ।
सिन्धुलि जिल्ला हरिहरपुरगढी गाउँपालिका - २ झनझनेस्थित गाउँपालिकाको सभा हलमा नेकपा बिप्लब समूह पश्चिम सिन्धुलिको आयोजनामा आयोजित ‘वर्तमान भु-राजनीतिक संकट र हाम्रो पार्टीको भुमिका' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पिबिएम कान्छाराम तामाङले कुनै पनि मूल्य चुकाएर भएपनि एमसीसी कार्यान्वय गर्न दिन नहुने बताएका हुन् ।
उनले साम्राज्यवादले नेपालमाथि गिद्दे नजर डरलाग्दो रुपमा लगाईरहेको बताउदै उसको गिद्दे नजर नेपाली जनताको एकता र बलले परास्त हुने दाबी गरे ।
पिबिएम कान्छारामले अमेरिकी साम्राज्यवादलाई चुनौती दिने गरी रसिया र चीन शक्तिशाली देश भएर उदाएपछि अमेरिकी साम्राज्यवाद निकै संकटमा परेको र आफू अगाडि वढन इन्डोप्यासीफिक रणनीति मार्फत आएको बताए ।
उनले उसको इण्डोप्यासिफिक रणनीति भनेको कमजोर राष्ट्रमाथि विकासको आवरणमा सैन्य अखडा राख्ने र युद्ध निम्त्याउने रणनीति भएको बताए । उनले साम्राज्यवाद चीनलाई घेर्न र नेपालमा विकासको नाममा युद्ध निम्त्याउन एमसीसीबाट प्रवेश गरेको ठोकुवा गरे ।
पिबिएम कान्छारामले भने ‘एमसीसी नामको कार्यक्रम साम्राज्यवादीको विचार हो,राजनीतिक हो,धार्मिक योजना हो, अलि –अलि विकास हो र मुख्यत सैन्य उद्देश्य हो । उसले विकासको नाम देखाएर नेपाल कव्जा गर्न चाहान्छ ।’
उनले अमेरिकी साम्राज्यवादले देखावटी रुपमा विधुत र सडकको भ्रम दिदै नेपाललाई समाप्त पार्ने र चीन कव्जा गर्ने डिजाईनमा एमसीसी ल्याएको भन्दै यसको प्रतिरोध सबै राष्ट्रवादी स्वाभिमानी शक्तिहरुले गर्नुपर्ने बताए ।
उनले दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध समाजवादी व्यवस्थाको विकल्प सारेर जनताको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी अगाडि बढेको चर्चा गर्दै दलाल र साम्राज्यवादी षड्यन्त्रको परास्त पारेरै छोड्ने उद्घोष गरे ।
उनले साम्राज्यवादले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा हस्तक्षेप गरेको बताउदै देश निकै संकटपूर्ण अवस्थाबाट गुज्रेको र जनता र राष्ट्रले जननेता नपाएको टिप्पणी गरे ।
पिबिएम कान्छारामले जनताको वास्तविक प्रतिनिधित्व गर्ने विचार, पार्टी र नेतृत्व सहित नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी राखेको दाबी गर्दै त्यसको लागि एकपटक जनतालाई साथ दिन अपिल गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा अधिवक्ता दिपक शर्मा जंगमले सरकारसँग भएको ३ बुँदे सम्झौता व्यवहारमा कार्यान्वयन नगरी मुद्दा थोपरेर आतंकित बनाउने काम गरेको बताए। उनले सरकारले जति आतंकित बनाउन खोजेपनि क्रान्तिकारी पछि नहट्ने बताए।
सिन्धुलि पश्चिम ब्युरो ईन्चार्ज भरत दाहाल 'जनक'को अध्यक्षता तथा सिन्धुलि पुर्बि क्षेत्रिय ब्युरो जिल्ला इन्चार्ज बर्तेबहादुर राई 'शसि'ले स्वागत गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य हिमाल सि, मानबहादुर विक, एकीकृत समाजवादीका भरत राइ, मगर राष्ट्रिय मुक्तिमोर्चाका हिमाल सि लगातारले मन्तव्य राखेका थिए।