काठमाडौं/सामाजिक सञ्जालमा यतिबेला गायिका एलिना चौहानको दाम्पत्य सम्बन्धको विषय भाइरल बन्न पुगेको छ। नेपाली सांगीतिक क्षेत्रमा राम्रै जमेकी कलाकार एलिना चौहानको विवाह केही समयअगाडि अस्ट्रेलियामा बसोवास गर्दै आएका व्यवसायी विष्णु सापकोटासँग भएको थियो।
प्रेमपश्चात् विवाह गरेको यो जोडीको सम्बन्धलाई लिएर विवाहअगाडि पनि केही नकारात्मक समाचार बाहिरिएका थिए। तर उनीहरूको विवाहसँगै यस्ता नकारात्मक प्रतिक्रिया दिनेहरूको मुखमा बुझो लागेको थियो।
विवाहपश्चात आफ्नो श्रीमान् बसोवास गर्ने देश अस्ट्रेलिया पुगेकी एलिना अचानक नेपाल फर्केपछि धेरैले चासो देखाए। त्यसो त एलिना नेपाल फर्कंदैमा आश्चर्य मान्नुपर्ने केही थिएन। किनकि उनी अत्यन्तै लोकप्रिय गायिका भएकोले व्यावसायिक कामले नेपाल आउनु स्वाभाविक थियो तर नेपाल आउनेबित्तिकै उनलाई ओशो तपोवनमा देखेपछि धेरैको लागि यो बिकाउ समाचार बन्यो।
सामाजिक सञ्जालतिर उनी तपोवनमा गुरुको अगाडि हात जोडेर ध्यानमग्न भएको, नाचेको, रोएको भिडिओ छ्याप्छयाप्ती देखिन थाले। कुनै पनि व्यक्तिको नितान्त व्यक्तिगत कुरालाई बढाइचढाइ मात्र होइन, नभएको कुराहरू समेत जोडेर आफ्नो च्यानल भाइरल बनाउने र कमाउने धन्दामा लागेकाहरूका लागि यो विषय बिकाउ बन्न पुग्यो। उनीहरूले एलिनालाई गीतसंगीतको विषयमा अन्तर्वार्ता गर्छु भनेर बोलाउने अनि किन अस्ट्रेलिया छाडेर ओशोमा लाग्नुभो, तपाईं र श्रीमानबीच राम्रो सम्बन्ध छैन रे नि भन्दै बारम्बार कोट्याइरहने गर्न थाले।
एलिनाले बडो संयमित भएर यस्ता प्रश्नहरूको जवाफ कूटनीतिक तरिकाले दिइरहिन्, जुन हामीले युट्युबतिर प्रशस्त भेट्न सक्छौँ। उनी व्यक्तिगत सम्बन्धको बारेमा खासै बोल्न चाहेको देखिँदैन तर मिडियाले यही विषय निकालेर उनलाई बारम्बार घोच्न भने छाडेन।
यतिबेला फेरि एकपटक उनको सम्बन्धको विषयले सामाजिक सञ्जाल तातेको छ। टिकटक र युट्युबतिर उनको विषय कसले कति बढी खोतल्ने भन्ने होड देखिन्छ। गायिका ज्योति मगरले कुनै गायिकाले अत्यन्तै विश्वासका साथ दिदी मानेर आफ्नो व्यक्तिगत जीवनको पीडा पोखेको र कुटपिट समेत भएको भनी फोटो देखाएको भन्दै लेखेपछि यसकै आधारमा टेलिभिजनको समाचारको हेडलाइन बन्यो र यो विषय समाजिक सञ्जालको मुख्य गफ बन्न पुग्यो।
गायिका ज्योति मगरले फेसबुकमा यस्तो स्टाटस राखिन्, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँशु झारिन् । पब्लिक फिगरको त यस्तो दुर्दशा छ आम महिलाको हालत के होला …?’
समाचार भाइरल बन्यो यसबाट धेरैले आफ्नो फलोअर्स बढाए होलान्। पैसा पनि कमाए होलान्। तर यो समाचारले गायिका चौहानलाई राहत दियो कि थप पीडा? यो विषयलाई हेडलाइन बनाउनेहरूले सोच्नुहोस् त?
तर व्यक्तिगत जीवनका बारेमा बोल्न र बाहिर ल्याउन नचाहेको कुरा स्वयं एलिना चौहानले विभिन्न अन्तर्वार्तामा अप्रत्यक्ष रूपमा बताइरहेको देख्दादेख्दै यसरी बाहिर ल्याउँदा यसले उनीमाथि परेको मानसिक आघातको मूल्य कसले चुकाउने?
धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो । यसबारे उनीसँग कुरा गर्न खोज्दा एलिनाको जवाफ यस्तो थियो, ‘यी कुराले मलाई एकदम टर्चर महसुस भइरहेको छ । एयरपोर्ट जाँदा होस् वा सार्वजनिक ठाउँमा पनि मलाई यस्तै प्रश्न सोधिन्छन् । पब्लिक फिगर भएपछि यी कुरा झेल्नुपर्ने रहेछ ।’
यसबारे आफूले ‘केही नबोल्ने’ बताएकी थिइन् । तर यसो भनेको केहीदिन नबित्दै अहिले एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि भने उनीहरूको समस्या सतहमा आएका छन् । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।
पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
‘अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।’
उनले अघि भने, ‘यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ ।’
फिराद पत्रमा एलिनाले के लेखेकी छन् ?
‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नुपर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु । विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ ।’