उदयपुर। उदयपुरको गाईघाटमा चार जना प्राज्ञिक स्रष्टालाई सम्मान तथा एक महिला स्रष्टालाई पुरस्कारसहित सम्मान गरिएको छ। उदयपुर साहित्य कला प्रतिष्ठानको दोस्रो अधिवेशन तथा पाँचौँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मातृका पोखरेल, विवश पोखरेल, खेम नेपाली र प्रा. डा. खेमराज खनाललाई सम्मान गरिएको थियो। सम्मानितमध्ये प्राज्ञ सञ्जय वान्तवा, डा. तारामणि राई र बुलु मुकारुङ भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्।
प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘शिवलोक साहित्य पुरस्कार’ यस वर्ष ‘प्रणाम सगरमाथा’ नियात्रा कृतिकी लेखिका भवानी खतिवडालाई प्रदान गरिएको छ। खतिवडालाई सम्मानपत्र, नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा दोसल्लासहित सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि मातृका पोखरेलले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा मोफसलको महत्वपूर्ण योगदान रहे पनि राज्यको प्राथमिकतामा यो क्षेत्र पर्याप्त पर्न नसकेको बताउनुभयो। समाजलाई बुझ्न र सामाजिक यथार्थलाई अभिव्यक्त गर्न भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो।
प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेका अनुसार संस्थाले उदयपुरका चार प्राज्ञिक स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय गरेको थियो। सम्मान कार्यक्रमसँगै आयोजित रचना वाचनमा उद्धव घिमिरे, गोपाल कीर्ति, गोठकृष्ण ठकुरी, जीवन आरोहीलगायतले कविता प्रस्तुत गरेका थिए। त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा, उपनिर्देशक रमेश ढुङ्गाना तथा विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए।
यसैबीच, प्रतिष्ठानको दोस्रो अधिवेशनले डा. कैलाशकुमार राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा बासु पोखरेल, महासचिवमा माधव पोखरेल गोज्याङ्ग्रे, सचिवमा सरिता पौडेल र कोषाध्यक्षमा हरि विनोद खतिवडा चयन भएका छन्।
वरिष्ठ सदस्यमा महेन्द्र राई, शारदा प्रसाद भट्टराई र रविन्द्रराजा शाही तथा सदस्यहरूमा हिमालय पौडेल, कुमार कोइराला, भीम घाँसे, कीर्तिबहादुर खड्का, देवेन्द्र पोखरेल, सीमा कुमारी मास्के, विष्णु खड्का, चन्द्रनारायण चौधरी र टङ्क आले मगर चयन भएका छन्।
अधिवेशनले सल्लाहकार समितिको संयोजकमा महाकाव्यकार उद्धव घिमिरेलाई चयन गरेको छ। समितिमा हर्कनारायण श्रेष्ठ, गोपाल हुमागाईं, शैलेन्द्र खतिवडा, गोपालकृष्ण तिम्सिना, गङ्गा पहाडी र सुमित्रा पोखरेल रहेका छन्।