काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’
पार्थिव शरीर बुधबारसम्म पार्टी कार्यालयमा राख्ने
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले अनलाइनखबरलाई बताए ।