काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतहरूमा भएको तोडफोड र आगजनी घटनामा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ।
गत आइतबार बसेको सबै न्यायाधीशहरूको पूर्ण बैठक (फूलकोर्ट) ले अदालत परिसरमा भएको क्षति र तोडफोडप्रति चिन्ता व्यक्त गर्दै कानूनी उपचार खोज्ने र संलग्नहरूलाई कारबाहीको मागसहित जाहेरी दर्ता गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अनलाइनखबरसँग कुरा गर्दै भने, “जाहेरी लेख्ने प्रक्रिया सुरु भइसकेको छ। सम्भवतः भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर जाहेरी दर्ता हुनेछ। हालसम्म कसको संलग्नता छ भन्ने यकिन हुन नसकेकाले नाम किटानी गरिएको छैन। अनुसन्धानबाट प्रहरी स्वयंले संलग्नहरू पहिचान गरी कारबाही गरोस् भन्ने हाम्रो अपेक्षा हो।”
जाहेरी दिने कार्यमा न्यायाधीशहरू प्रत्यक्ष संलग्न नहुने र सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू— सम्भवतः मुख्य रजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट—जाहेरी पेश गरिने बताइएको छ।
जेन–जी आन्दोलनमा भएको दमनको भोलिपल्ट देशव्यापी रूपमा अदालतहरूमा तोडफोड र आगजनी भएका थिए। त्यस क्रममा रामशाहपथस्थित सर्वोच्च अदालत समेत आगजनीका कारण गम्भीर रूपमा क्षतिग्रस्त बनेको थियो। करिब तीन दिनसम्म लागेको आगोले विचाराधीन करिब २० हजार मुद्दाका फाइल र फैसला भइसकेका झन्डै एक लाख ९७ हजार फाइल जलेर नष्ट भएका छन्।