-डा. भरत लामिछाने
गत साल २०८१ असोज महिना देखि २०८२ असोज महिनासम्मको एक वर्ष काभ्रे जिल्लाको वाम राजनीतिमा अन्धकारमय हुन पुग्यो । यस कारण कि, नेपाली कम्युनिष्ट आन्दोलनसँग प्रतिवद्ध होनहार नौ जना साथीहरुको एक वर्षभित्रै कीर्तिशेष हुन पुग्यो । ऊहाँहरू अधिकांश ने. क. पा. (चौथो महाधिवेशन ) कालदेखि एकता केन्द्र, माओवादीसँग सम्बद्ध, प्रतिबद्ध हुँदै आउनु भएका साथीहरु हुनुहुन्थ्यो भने, केही ने.क.पा.(माले ) कालदेखि एमाले हुँदै समाजवादी पार्टीसँग सम्बद्ध एवम् प्रतिवद्ध साथीहरुको अकल्पनीय रुपमा कीर्तिशेष हुनपुग्यो । त्यसरी कीर्तिशेष हुने साथीहरु कमरेड तेज ब.के.सी (२०८१ असोज ), कमरेड माधव खनाल (२०८१ मंसिर २९ शनिवार ), कमरेड हरि घिमिरे के.सी(२०८१ माघ २० गते आईतबार), कमरेड विदुर सापकोटा (२०८१ फागुन), कमरेड लक्ष्मण सापकोटा (२०८२ वैशाख ), ई. डा. मुरली गोपाल रंजित( २०८२ असार ), कमरेड गोपीकृष्ण थपलिया (२०८२श्रावण १ गते बिहिवार), कमरेड मणिक लामा (२०८२ भाद्र ), कमरेड टि.पि. शर्मा तिमल्सीना (२०८२ असोज ) । सर्वप्रथम माथि उल्लेखित दिवंगत सम्पूर्ण साथीहरुप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु । र , तपाईंहरूले नेपाली समाजलाई अग्रगामी दिशामा लैजानको लागी आ-आफ्नो ठाँऊबाट निर्वाह गर्नुभएको भूमिकाको कदर र सम्मान न्यायप्रेमी जनसमुदायले सदाकाल गर्नेछन् भन्ने विश्वास लिएको छु ।
बि.सं.२०८१ मंसिर २९ गते शनिवार क.माधव खनालको कीर्तिशेष भएकोले यस बर्षको सोही दिन ऊहाँको “स्मृति दिन' मानिने परम्परा छ । त्यसै सन्दर्भमा उहाँले नेपाली कम्युनिष्ट आन्दोलन एवम लोकतान्त्रिक आन्दोलनमा खेल्नु भएको भूमिकाको स्मरण नगर्दा, उहाँप्रति अन्याय नै हुने ठानी शब्दमा उत्तार्ने जमर्को गर्न पुगेको छु । कमरेड माधव खनालको जन्म साबिक खनालथोक-६ हाल नमोबुद्ध नगरपालिका -७ मा पिता नारायणदत्त र माता हस्तकुमारी खनालको कोखबाट वि.सं.२०२१ साल जेठ १६ गते भएको थियो । उहाँका पिता नारायणदत्त मध्यम वर्गीय परिवारका किसान हुनुहुन्थ्यो ।उहाँ गाउँ-छिमेकमा परि आउने सामाजिक कार्यमा सक्रिय हुनुहुँदो रहेछ । छरछिमेकी एवम गाउँ समाजमा आईपर्ने निम्न स्तरीय किसानहरूका व्यवहारिक एवम् आर्थिक समस्या पनि बिना स्वार्थ टारिदिने, सहजरुपमा व्यवहारमा सहयोग पुर्याउने स्वभाव उहाँको भएकाले नै सबै जनसमुदायका प्रिय पात्र हुनुहुँदो रहेछ । त्यसैले उहाँलाई नारायणदत्त “साहु”बाट पनि सम्बोधन गरिदो रहेछ । त्यस्ता लोकप्रिय पिता एवम ममतामयी माता हस्त कुमारीको कोखबाट ५ जना छोराहरु र ५ जना छोरीहरूको जन्म भएको रहेछ । जसमा माहिलो छोरा कमरेड माधव खनाल हुनुहुन्थ्यो ।
कमरेड माधव खनाललाई मैले विसं २०४० बाट मात्र चिनेको हो। विसं २०३६ सालमा पाकिस्तानमा भुट्टोलाई मृत्युदण्डको सजांय सुनाए पश्चात त्यसका विरूद्धमा नेपालमा पनि विद्यार्थीहरूले बिरोध जनाई आन्दोलन उठाएका थिए । काठमाडौँ उपत्यकाबाट उठेको आन्दोलनको प्रभाव देशभरका प्रमुख शहरहरुमा फैलिन पुगेको थियो । त्यसो त त्यो आन्दोलन आवरणमा पाकिस्तानको निरंकुश शासन विरुद्धको आन्दोलन देखिए पनि आन्तरिक रुपमा नेपालको निरंकुश पञ्चायती शासन व्यवस्थाको विरुद्धमा केन्द्रीत थियो।त्यस बखत निरंकुश व्यवस्थाका बिरूध्दमा कलेजदेखी मा .बि. तहसम्मका बिध्यार्थीहरू संगठित भई सक्रिय हुने बखत थियो । श्रीकृष्ण मा.बि.मा गणेश श्रेष्ठ लगायतका शिक्षकहरूको प्रशिक्षणको प्रभाव त्यहाँका बिध्यार्थीहरूमा पर्दै आएको थियो । कमरेड खनाल पनि त्यहाँ अखिल छैठौ को कमिटीमा प्रतिवद्ध हुँदै सक्रिय रहनु भएको थियो । उपत्यकाका कलेजहरूबाट उठेको आन्दोलनको रापताप सर्वत्र फैलिएर पञ्चायती व्यवस्थाको विरुद्धमा केन्द्रीत भएपछि राजा विरेन्द्रले "सुधारिएको पञ्चायती व्यवस्था कि ? बहुदलीय ब्यवस्था”? भन्ने विषयमा जनमत संग्रह गर्ने घोषणा गर्न बाध्य हुन पुगेका थिए। त्यसैले २०३७ साल जेष्ठ महिनामा नेपालमा जनमत संग्रह हुन पुगेको थियो। त्यस बखतको आन्दोलनको गहिरो प्रभाव उहाँमा पनि परेको थियो । स्कूल स्तरीय पढाई सकेपछि उहाँ थप अध्ययनका लागि ऊपत्यका पस्नुभयो। तर उहाँको सोचमा “उत्पादनसँग जोडिएन भने शहरिया जीवन निर्वाह गर्न मुस्किल पर्ने हुँदा उत्पादनसँग जोडिदैं अध्ययन गर्ने र आन्दोलनलाई पनि सहयोग पुर्याउँदा मात्र दीर्घकालिन रुपमा अगाडि बढ्न सकिन्छ” भन्ने थियो । ऊपत्यका प्रवेश गरेपछि नेपाल कम्युनिस्ट पार्टी ( चौथो महाधिवेशन) संग सम्बन्धित साथीहरूसंग उहाँको सम्पर्क बढ्यो । त्यस बखत पार्टीहरू भूमिगत अवस्थामा नै रहनु पर्ने बाध्यता थियो ।
कमरेड माधव खनाल अत्यन्त मिलनसार, मेहनती, सरल र सहयोगी हुनुहुन्थ्यो। “सादा जीवन उच्च विचारका “धनि हुनुहुन्थ्यो । पार्टी संगठनसंग जोडिदै आफूलाई दिएको ज़िम्मेवारी पुरा गर्ने र घरायसी कामकाजलाई पनि व्यवस्थित तुल्याउन उहाँ सियालु नै हुनुहुन्थ्यो। उत्पादनसँग जोडिदामात्र मानव र मानवसमाजको जीवनशैलीमा उन्नत फेरबदल ल्याउन सक्ने हैसियत बन्न सक्छ भन्ने कुराप्रति उहाँ सचेत हुनुहुन्थ्यो । उहाँलाई सघाउने उहाँकी जीवन संगिनी कमरेड मिठु गौतम खनाल पनि सक्षम महिला हुनुभएकोले उहाँको घर परिवारमा सहजता छाएको थियो । पार्टी संगठनले दिएको जिममेवारी पूरा गर्दै उत्पादनसँग जोडिएको व्यवसाय गर्दै जाने क्रममा उहाँहरुबाट मुकेश, मनोज र मिलन तीन जना छोराहरुको जन्म हुन पुग्यो। ऊनीहरूको पालन पोषण र शिक्षा दिक्षा दिने दिलाउने कर्तव्य एवम् ऊत्तरदायित्व बहन गर्दै, दुईजना छोराहरूको विवाह समेत सम्पन्न गर्नुभयो । मुकेशको एरिनासंग र मनोजको रमिला(मिली)संग बिवाह सम्पन्न भई उनीहरूबाट रोनभ, रितभिक, दुई छोराहरू र एक छोरी मायराको जन्म भई तीन जनाको ऊहाँ हजुर बा बनिसक्नु भएको थियो । स्वदेशमा आ-आफ्नो सीप र क्षमता अनुसारको रोजगारी प्राप्त नभएका कारण आत्मनिर्भरताको बाटो खोज्दै उनीहरू यतिबेला अष्ट्रेलिया र अमेरिकासम्म पुग्न बाध्य भएका छन् ।यसरी कमरेड माधव खनालले आफ्नो घरघरायसी व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउँदै, पार्टी संगठनको जिम्मेवारीप्रति उत्तरदायी बन्दै आउनु भएको थियो।
उहाँ नेपाल कम्युनिस्ट पार्टी (चौ.म.) का जन वर्गीय संगठनहरूमा सक्रिय हुंदै आउनेक्रममा शुरूको अवस्थामा विध्यार्थी संगठन र जनबादी युवा लिगमा संगठित हुनुभयो । क्रमश: ने .क.पा. (एकता केन्द्र) को राजनीतिक मोर्चा संयुक्त जनमोर्चा नेपालको काभ्रे जिल्ला समितिमा कोषाध्यक्ष पदको ज़िम्मेवारी लिनुभएको थियो । बि.सं. २०५४ सालमा भएको जिल्ला सम्मेलन ऐतिहासिक सम्मेलन यस अर्थमा पनि महत्वपूर्ण थियो कि, उक्त सम्मेलनमा ने.क.पा.का संस्थापक सदस्य एवम् संयुक्त जनमोर्चा नेपालका केन्द्रिय अध्यक्ष निरञ्जन गोविन्द वैद्य, ने.क.पा.का वरिष्ठ नेता निर्मल लामा, ने .क .पा. का झण्डै संस्थापक नेता देबेन्द्रलाल श्रेष्ठ (काहिला बा) लगायतका नेताहरूको प्रमुख, एवम् बिशेष आतिथ्यता र जिल्लाका शिर्षस्थ नेताहरूको आतिथ्यता साथीहरूको न्यानो समुपस्थितिमा धुलिखेलमा सम्पन्न भएको थियो । पंङ्तिकारको अध्यक्षता र कमरेड गोपीकृष्ण थपलियाले संचालन गर्नु भएको सो कार्यक्रममा नेता कमान सिंह लामा की सुपुत्री निमा लामा र आईतसिंह तामाङ बीच जनबादी बिवाह समेत सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको उक्त सम्मेलनबाट जिल्ला कार्य समिति पनि चयन गर्नुपर्ने थियो। त्यसको जिम्मेवारी अध्यक्षको हैसियतले म माथि नै बढ्ता थियो। कार्यदक्षता, लगनशिलता, इमान्दारिता, भौगोलिक र जातिगत समावेशिता, आदि अवस्थाप्रति ख्याल गर्दै जिल्ला समितिमा रहनु हुने साथीहरूको नामावली छनौट गरी प्यानल प्रस्ताव गर्नुपर्ने थियो । साथीहरूको सल्लाह अनुसार मैले कमरेड माधव खनाललाई कोषाध्यक्षको जिम्मेवारी दिंदा उपयुक्त हुने देखेर उहाँसँग कुरा अगाडि बढाएँ । उहाँले सहमति जनाउनु भयो। त्यसै अनुसार जिल्ला समितिमा रहनु हुने सबै साथीहरुसँग सहमति लिएर प्यानल प्रस्तुत गरिएको थियो। पेश गरिएको प्यानललाई हलले सर्वसम्मतिबाट नै पारित गर्न पुगेको थियो। त्यस बखतदेखि कमरेड खनालको जिम्मेवारी बढेको थियो ।
त्यसपछि उहाँले मोर्चाको जिल्ला कोषाध्यक्ष र भूमिगत पार्टी ने.क.पा.( एकता केन्द्र) समेतको जिम्मेवारी कुशलता पूर्वक बहन गर्दै आउनु भयो। जुनकुनै कार्यक्रम गर्नुपर्दा आर्थिक व्यवस्थापनको अपरिहार्यता पर्छ नै, त्यसलाई उहाँले सहज ढंगले व्यवस्थापन गर्ने गर्नुहुन्थ्यो ।पार्टीको आर्थिक श्रोत भनेको चन्दा, सहयोग मात्र भएकाले त्यस बखत पार्टी संचालन गर्न मुस्किल पर्दथ्यो । त्यही चन्दा सहयोग दिन पनि उद्यगी व्यवसायीहरूले आफ्नो स्वार्थ त्यस पार्टीले पूरा गर्न सक्छ कि सक्दैन भनेर हेर्दथे । त्यसमा पनि हाम्रो जस्तो पार्टी, संसदीय व्यवस्थाका विकृति र बिसंगतिहरूको भण्डाफोर गर्ने , त्यस प्रकारको व्यवस्थामा सरकारमा नजाने पार्टीलाई ती स्वार्थी उद्योगी व्यबसायीले कहाँ टेर्दथे र पत्याउदथें ?उनीहरूले पत्याउने बुर्जुवा पार्टी, सामन्तबाद, विस्तारबाद एवम् साम्राज्यबादीहरूको ईशारामा चल्ने पार्टी नै थिए । जो सत्ता र शक्तिको बागडोर लिएर आ-आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यमा केन्द्रित थिए । त्यस अवस्थामा हाम्रो पार्टी न्यायप्रेमी राष्ट्रप्रेमी जनसमुदायको माया ममताबाट प्राप्त हुने सानोतिनो आर्थिक सहयोग र कार्यकर्ताको लेबी र बिशेष सहयोगबाट चल्ने गर्दथ्यो । त्यसको व्यवस्थापन गर्दै जाने क्रममा कहिलेकाँही पार्टीको अवस्था बुझेर र पार्टीप्रति अगाध स्नेह भएर, केही नपुग हुन आएमा उहाँ आफैले पनि राखेर पार्टीको काम सम्पन्न गरी पार्टीको दुःख टार्न पनि पछि पर्नु हुन्नथ्यो ।
यसरी उहाँले २०५४ सालदेखि मोर्चाको कोषाध्यक्षको जिम्मेवारी बहन गर्दै आउनु भयो । बि.सं.२०५९ श्रावण २४ गते ने.क.पा.(एकता केन्द्र ) र (मसाल) बीच पार्टी एकता भई ने.क.पा. (एकता केन्द्र मसाल) बन्न पुग्यो ।पार्टीका राजनीतिक मोर्चा संयुक्त जनमोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा पनि एकीकरण भएर जनमोर्चा नेपाल बन्न पुग्यो । त्यसै बमोजिम जिल्ला एवम् स्थानीय तहमा पनि एकीकरणका सम्मेलनहरू भएका थिए । त्यसमा पनि क. खनाल जिल्ला समितिको कोषाध्यक्ष र भूमिगत पार्टीको पूर्ववत जिम्मेवारीमा पूनः सर्वसम्मत हुनुभयो ।
बि .सं.२०६२/ ६३ मा दोश्रो संयुक्त आन्दोलन भयो। त्यस आन्दोलनमा पनि उहाँको भूमिका अत्यन्तै राम्रो थियो । बिडम्बना २०६३ सालसम्म पुग्दा २०५९ मा जोडिएको पार्टी बिभाजन नै हुन पुग्यो । पार्टी बिभाजन हुनुहुन्न भनेर दवाब दिन पार्टी भित्रनै तेस्रो शक्ति निस्कियो। तर पार्टीका महासचिव कमरेड मोहन बिक्रम सिंह र सह- महासचिव कमरेड नारायणकाजी श्रेष्ठ दुई पक्षका अगाडी तेश्रो शक्ति जसको नेतृत्व कमरेड रामसिंह श्रीष र कमरेड चित्रबहादुर आले, कमरेड परी थापा, कमरेड नवराज सुबेदी लगायतले गर्दै आएका थिए । पार्टीको सिद्धान्त, दर्शन, विचार, राजनीति भन्दा पनि पूर्ववत् समूहको आग्रह र पूर्वाग्रहबाट ग्रसित अवस्थालाई तेश्रो शक्तिले चिरेर पार्टी एकढिक्का राख्न सकेन । तेश्रो शक्तिको केही लागेन । दुबैले आ-आफ्नो पूर्ववत् पार्टीको नाम राखेर अगाडी बढे । पार्टी फुटेर तीन टुक्रा नै हुन पुग्यो । त्यसै अनुसार जिल्ला र स्थानीय तहमा पनि फूटको प्रभाव पर्नु स्वभाविक नै थियो । काभ्रे जिल्लामा पनि सो को प्रभाव गम्भिर रूपमा नै पर्न गयो । कमरेड खनालले पनि पूर्वत् समूहमा नै रहनु भई काम गर्दै आउनु भयो ।
वि.सं. २०६४ सालमा संविधान सभाको निर्वाचन भयो ।ऊक्त निर्वाचनमा फुटेका तीनवटै दलहरूले आ-आफ्नो तर्फबाट ऊम्मेद्वारी दिए। परिणाम सोचेजस्तो आउने कुरै थिएन । अन्ततः नारायणकाजी समूह ने. क. पा. (एकता केन्द्र) को ने.क.पा.(माओबादी) संग एकता भयो । र, पार्टीको नाम ने .क. पा.(एकीकृत माओबादी) हुनपुग्यो । त्यस बखत पनि कमरेड खनाललाई त्यस पार्टीको जिल्ला समितिकै जिम्मेवारी आएको थियो ।
त्यहाँ निरन्तरता दिदै आउने क्रममा उहाँलाई अकस्मात गतसाल घाँटीको समस्या आयो ।
घाँटीको समस्या आएपछि ऊहाँ बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवन,भरतपुरमा स्वास्थ्य परीक्षणमा जानुभयो । स्वास्थ्य परीक्षणबाट क्यान्सर भएको रिपोर्ट आयो । ऊपचारार्थ त्यहाँ भर्ना भई घाँटी र जिब्रोको केही भागमा देखिएको क्यान्सर सेललाई शल्यक्रियाद्वारा ऊपचार भएपछि घर फर्किनु भयो । तीन महिनासम्म उहाँले बोल्नसम्म मिलेन ।कुराकानी लेखेर मात्र हुने अवस्था आयो । तीन महिना पछि चिकित्सकले रेडिएशन थेरापीको लागी बोलाए। थेरापी प्रक्रिया शुरू भएपछि सामान्य डोजको किमो थेरापी पनि गर्नुपर्ने चिकित्सकको सुझाव आएपछि सोही अनुसार उपचार भईरहँदा उहाँको शारीरिक रुपमा अन्य समस्या देखापरेछन् । तर कहाँवाट कसरी शरिरभित्र रक्तश्राव हुन पुग्यो ! पिसाब थैलीसम्म रगत भरिएछ। त्यसको उपचार समेत गर्ने प्रयास चिकित्सकहरूले गरे। तर ऊपचारले सफलताको बाटो लिएन । उहाँ बेहोस हुनु भयो । होसमा फर्किनु भएन। अन्ततः चिकित्सकले निधन भएको घोषणा गरे ।र छोराहरूको ऊपस्थितिलाई पर्खिएर काठमाडौं पशुपति आर्यघाटमा हजारौं जनसमुदायले श्रद्धान्जली अर्पण गरी अन्तिम बिदाई गरेका थिए ।
बि .सं. २०५७(ई.सं.२००१) मा नेपालबाट आदरणीय द्वय सुवास दाई र दिल सुन्दर दाई समेतको नेतृत्वमा उत्तर कोरियाको निमन्त्रणामा हामी २४ जनाको समूह जनगणन्त्र राष्ट्र चीन हुँदै प्र.ज.ग.उत्तरकोरिया पुगेका थियौ । उहाँ समेतको १५ दिने सो भ्रमणको सम्झना यतिबेला पनि ताजा नै भएको महसूस हुन पुगेको छ । त्यस्तै हामी पारिवारिक भ्रमणमा केही बर्ष अगाडी अष्ट्रेलियाको सिड्नी पनि संगसंगै घुमेको सम्झना बिर्सनै नसकिने प्रकारको छ । उहाँ मेरो २०४० सालदेखिको मित्र । त्यसपछिका दिनमा प्रिय कमरेड हुँदै, बि.सं. २०६८ माघ १४ गते शनिबार श्रीपन्चमीको दिन उहाँको माहिलो सुपुत्र मनोज र हाम्रो कान्छी छोरी रमिला लामिछाने बीच दाम्पत्य जीवन गाँसिएपछि सहृदयी सम्धी कमरेड । यसरी दर्शन, सिद्धान्त , विचार, राजनीतिका सह-यात्री हुँदै पारिवारिक सम्बन्धमा गाँसिन पुगेका हामी । भनाई पनि छ नि - “रगत र सम्बन्धको नाता भन्दा दर्शन, सिद्धान्त, विचार, राजनीतिको नाता प्रिय र दिगो हुन्छ “ । यति प्रिय कमरेडको असामयिक कीर्तिशेषले सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुग्यो। जसले पारिवारिक रूपमा पनि विक्षिप्तता छाएको छ । सबैजनामा गहिरो दुःख आईपरेको छ। आज मंसिर २९ गते उहाँको वार्षिक स्मृतिको दिन यस अवसरमा उहाँप्रति पूनः हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।
२०८२ मंसिर २९, काठमाडौं
भेट्दा भाइ बन्धु भनेर माँया गर्ने । बिद्यार्थी आन्दोलनमा लाग्दा सधै मलाई र हाम्रो साथि महेस अधिकारी जिलाई सल्लाह सुझाब हाैसला दिने प्रिय दाइ कं माधब खनाल प्रति भाबपर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै साेकाकुल परिवार प्रति समबेदना ब्यक्त गर्दछु ।
भेट्दा भाइ बन्धु भनेर माँया गर्ने । बिद्यार्थी आन्दोलनमा लाग्दा सधै मलाई र हाम्रो साथि महेस अधिकारी जिलाई सल्लाह सुझाब हाैसला दिने प्रिय दाइ कं माधब खनाल प्रति भाबपर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै साेकाकुल परिवार प्रति समबेदना ब्यक्त गर्दछु ।