काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आज विहान ६ बजेर ५० मिनेटमा उनको उपचारकै क्रममा निधन भएको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजले जनाएको छ ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते उक्त अस्पताल भर्ना गरिएको थियो ।
उनको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार उनलाई युरिन इन्फेक्सन तथा छातीमा निमोनिया देखिएको छ । यस्तै जोशीमा डेङ्गीको समेत संक्रमण देखिएको थियो ।
अस्पतालकाअनुसार जोशी भर्ना भएपछि केहि दिन उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । उनी दोहोरो संवाद गर्न सक्ने भइसकेका थिए ।
तर पछिल्लो ३–४ दिनदेखि खानामा अरुची बढ्दै गएको र उनको स्वास्थ्यमा उतारचढाब देखिएको थियो । पछिल्लो समय उनी प्रस्ट रुपमा संवाद गर्न पनि नसक्ने भएका थिए ।