जनयुद्धका दिन सम्झिँदै भावुक भइन् उर्मिला !
मकवानपुर /प्रतिनिधि सभा निर्वाचन पश्चात पहिलोपटक मकवानपुर पुगेकी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेललाई स्थानीयवासीले भव्य स्वागत, सम्मान र सद्भाव व्यक्त गरेका छन् ।
जनयुद्धको समयमा मकवानपुरकाे एरिया इन्चार्ज काम गरेकी सांसद माझीलाई बकैया गाउँपालिका अन्तरगतका माझी वस्तीमा भव्य स्वागत गरिएको हाे । मकवानपुरका जुईना, अधेरी, पावस, श्रीपुर,
छतिवन, जुरेली र हात्तीखाेला लगायतका बस्तीमा पुगेकी उर्मिलालाई स्थानीय जनताले फुलमाला र टीकाले भव्य स्वागत गरेका हुन् । काभ्रेमा चेली उर्मिलाले जनयुद्धको समयमा काभ्रे, मकवानपुर र ललितपुर जिल्लामा भुगाेलकाे एरिया इन्चार्जकाे भुमिकामा जनतालाई संगठित, प्रशिक्षित र परिचालन गर्ने गर्दथिन् । उनी त्यस क्षेत्रमा क.उमाकाे नामले परिचित छन् ।
उनलेे आफुले यस क्षेत्रमा आइपुग्दा जनयुद्धकालिन आत्मियता पाएकाे बताउँदै आफुले अति सिमान्तकृत जनजातिमा पर्ने माझी समुदाय र क्षेत्रको विकास र समृद्विको लागि सक्दाे पहलकदमी लिने बताइन् । उनलेे माझी समुदायलाई राज्यले अत्यन्तै उपेक्षा गरिरहेको अवस्थामा नेकपा माओवादीकाे नेतृत्वमा सञ्चालित जनयुद्धले माझी समुदायलाई चेतना जागृत गरेकाे र माओवादीकै कारण नै माझी समुदायले अधिकार प्राप्त गरेकाे बताइन् ।
सहिदका पदचाप पछ्याउँदै निर्वाचन पछि पहिलोपटक मकवानपुरका गाउँ बस्तीमा माझी समुदायकी महिला सांसद उर्मिला पुग्दा उनीसँग खुसी साट्ने र बधाई दिनेमा बाआमादेखि युवा र महिलाहरू थिए । सांसद उर्मिलाले आफुलाई जनयुद्धकालमा दुश्मनसँग लुकाउँदै र माया गर्दै बचाएकाे यस क्षेत्रलाई कहिल्यै बिर्सन नसक्ने बताइन् । सांसद माझीले आफू निरन्तर माझी समुदाय लगायत पिछडिएका समुदाय र वर्गकाे लागि लडिरहने बताएकिछिन् । उनी माझी राष्ट्रिय मुक्तिमोर्चाकि महासचिव हुन् । उनी लमजुङबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनीसँगै माझी समुदायकी नेतृ तथा बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीलाई स्वागत र सम्मान गरिएको थियाे ।
अति सिमान्तकृत जनजातिमा पर्ने माझी जनजातिको छोराछोरीलाई माओवादी केन्द्रले प्रदेशदेखि प्रतिनिधि सभाको सांसद बनायो उर्मिला माझीसहित प्रत्यक्ष र समानुपातिक सहित चार पटक माझीको छोराछोरी सांसद भै रहँदा सबैभन्दा बढी समानुपातिक सिट जित्ने एमाले र काग्रेसले एक जनापनि माझी समुदायका छोरा छोरीलाई अवसर नदिएको तर माओवादीकै नीतिको कारण आज उर्मिला माझी प्रतिनिधि सभा सांसद हुन सफल हुँदा माझी समुदायले माओवादी केन्द्रप्रति आभार व्यक्त गरेकाे माओवादी केन्द्रको उदयमान नेतृ लक्ष्मी माझी(कृपा) बताउँछिन्।