धुलिखेल/काभ्रेपलाञ्चोकको धुलिखेलमा आज ३४ औं अर्न्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलको आयोजनामा गीता मन्दिरमा भएको हो।
प्रमुख अतिथि नगरप्रमुख ब्याञ्जुले जेष्ठ नागरिकहरुको मार्ग दशर्नले नै परिवार र समाजलाई सकरात्मक बाटो देखाउने वताउनुभयो । जेष्ठ नागरिकहरु अनुभवको खानी भएकाले नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।
विशिष्ट अतिथि धुलिखेल नगरपालिकाकाे संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले जेष्ठ नागरिकलाई सवैले सदा सम्मान गर्नुपर्ने वताउनुभयो । उहाँले अगाडि भन्नुभयो -'जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।'
जेष्ठ नागरिक सेवा केन्द्र धुलिखेलका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु गीतामन्दिर संरक्षण समितिका अध्यक्ष रमानाथ यगोल, आनन्द मार्ग प्रचारक संघका आचार्य महेन्द्र बिजू र रोटरी क्लबका पूर्व अध्यक्ष माणिकलाल कालू र ब्रह्मकुमारी राजयोगका लक्ष्मी बहेनजीको उपस्थितिमा स्थानीय ९० वर्ष नाघेका जेष्ठ नागरिक दिलहरि माया धालाछें र कृष्णबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो। अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसबारे महासचिव बेदकण्ठ यगोल, स्वागत मन्तव्य निलकन्ठ माकजू र कार्यक्रम संचालन महेश यगोलले गर्नु भएको थियो ।
राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम भइरहेका छन् ।