धुलिखेल । काभ्रेको क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवार सहितको घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सभा उम्मेदवार लक्ष्मण लम्साल आसन्न मंसिर ४ को निर्वाचनका लागि मत माग्न जनताको घर घरमा पुगिरहनु भएको छ ।
उहाँ आफ्नो निर्वाचन क्षेत्र प्रतिनिधि सभा काभ्रे २ (१०) मा मतदातासंग भेला, छलफल र अन्र्तक्रियामा व्यस्त हुनुहुन्छ । नेता लम्सालले गएको ५ वर्षमा आफुले गरेका विकास निर्माण कार्यको विषयमा जनतालाई बुझाई रहनु भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत आइतबार धुलिखेलको वडा नं. ६, सुवाल टोल र वडा नं.–३, बाँसघारी र कुतालमा घरदैलो अभियान संपन्न भएको छ ।
घरदैलो कार्यक्रम अन्तर्गत कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शिव हुमागाईले विकास प्रेमी जनताका अपेक्षा पुरा गर्ने काम आफूहरूबाट मात्र सम्भव रहेको बताउनु भयो । उहाँले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरूको विरुद्ध आफूहरूले गठबन्धन गरेर अगाडि बढेको बताउनु भयो । उम्मेदवार हुमागाईले आफूहरू चुनावी अभियान मात्र नभइ विकास र समृद्धिको अभियान ल्याउन जनताको बीचमा आएको बताउनु भयो । धुलिखेल–३, कुतालमा भएको चुनावी अभियानका क्रममा बोल्दै उहाँले संविधानमा शिक्षा, स्वास्थ्य रोजगारी र आवासको ग्यारेन्टी गरिएको भन्दै त्यसको कार्यान्वयनमा लाग्ने धारणा राख्नुभयो । विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको उहाँको भनाई थियो ।
गठबन्धनको तर्फबाट काभ्रे–२(१) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का बागमति प्रदेश कमिटीका सचिव लक्ष्मण लम्सालले ‘नाम मदन भण्डारीको जप्ने, जनताको बहुदलीय जनवादको कुरा गर्ने तर काम जनता विरोधी गर्ने, जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चने काम भएको बताउनु भयो । हामीले धेरै पटक सच्याउने प्रयास ग¥यौं तर एमालेको नेतृत्व सच्चिएन । त्यसपछि हामीले विद्रोह गर्नुपरेको हो । तपाईले मत दिएर यस अगाडि प्रतिनिधिसभामा पठाएकाले काम गर्न सकेनन् । जनताका एजेन्डा भन्दापनि अर्कै ढंगले अगाडि बढे– उहाँले भन्नुभयो । लम्सालले भन्नुभयो–‘उल्टै भए नभएका कुरा गर्दै यो पनि मैले गरेको त्यो पनि मैले गरेको भन्दै गोयबल्स शैलीमा जनतालाई भ्रममा पार्न खोजेको छ, त्यस्ता व्यक्तिलाई चिन्नुपर्ने र जिल्लाको नाम बदनाम गर्ने भ्रष्टलाई जनताले अब मतदान नगरी बहिष्कार गर्नुपर्छ ।’