काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
नेपाल पत्रकार महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको र निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् ।
‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व ग्रहण गर्न आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।
सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन’- पोखरेलले बुझाएको राजीनामा पत्रमा भनेका छन्।