धुलिखेल/उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अर्का देशको शरणार्थी बनाएर पैसा र सम्पत्ति आर्जन गर्ने धन्दामा लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ।
धुलिखेलमा प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको जानकारी दिनुभयो।
उहाँले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सकेमा मात्रै सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताए। गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वशर्त बनाउन आवश्यक भएको बताए।
‘भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई समृद्धिको पूर्वशर्त बनाउनैपर्छ, त्यसलाई स्थापना गर्न सकेनौँ भने विकास र समृद्धिको लक्ष्य पूरा हुनै सक्दैन’, उनले भने, ‘सुशासन कायम गर्नका लागि सारा भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ, त्यसलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्नुपर्छ र कमिशनको स्वार्थको निम्ति राष्ट्रमाथि आयोजना थोपर्ने र सबै मिलेर देशलाई कमिशनको जालोबाट बर्बाद गर्ने प्रक्रियाबाट मुक्त पार्नुपर्छ।’
सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको एकसूत्रीय लक्ष्य रहेको बताउँदै उनले त्यसको आधारमा अगाडि बढ्दै ‘निर्दोष नफसोस् र कुनै अपराधी नछुटोस्’ भन्ने मान्यतका आधारमा काम गरिरहेको स्पष्ट पारे। त्यसका लागि विगतका कमीकमजोरीलाई समीक्षा गर्दै दृढ संकल्पका साथ आएको उनको भनाइ थियो ।
राष्ट्र र जनतालाई परिणाम दिन सकेनौँ भने न परिवर्तनको औचित्य पुष्टि र रक्षा गर्न सकिन्छ न पार्टी र कम्युनिष्ट आन्दोलनले आफ्नो अस्तित्वको रक्षा र विकास नै गर्न सकिने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्ने उनले बताए।
कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने बलिदानिपुर्ण संघर्षबाट प्राप्त उपलब्धिकाे संरक्षण गर्दै सार्वभौमिकताकाे रक्षाका साथै बाँकि रहेका शान्ति सम्झाैताका बाँकि कार्यभार पूरा गर्ने र सुसासन, समृद्धि, सामाजिक न्यायकाे लागि सरकार लागेकाे बताए ।
गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जस्तै अन्य भ्रष्टाचारसंग संलग्न जाेसुकैलाई कार्वाही गर्न सरकार प्रतिबद्ध रहेकाे कुरमा जोड दिनुभयो। पत्रकारिता क्षेत्रमा पनि रूपान्तरण गर्न जरुरी रहेकाे बताउँदै उनले एकातिर प्रविधिलाई आत्मासाथ गर्नेगरी अर्कोतिर आफ्नो कमी कमजोरी भए सच्याउने गरी रूपान्तरण गर्नैपर्छ ।
यस्तै, कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अहिलेकाे प्रवृत्ति जारी रहे संघियता खतरामा पर्ने भन्दै कतिपय पञ्चायतकालिन ऐनका कारण प्रदेश सरकारले काम गर्न नसकेकाे बताउनुभयो ।
उहाँले अहिले प्रदेशलाई बुख्याचा जस्तो बनाउन खाेजिएकाे भन्दै प्रदेशलाई आवश्यक अधिकार दिन माग गरेका छन् ।
मन्त्रि श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति माओवादी शक्ति एकढिक्का भएर अघि वढ्नुको बिकल्प नरहेको समेत वताउनुभयो । मन्त्रि श्रेष्ठले संघीयता, धर्म निरपेक्षता, समानुपातिक सहभागिता र समृद्धिको रक्षाका लागि प्रचण्ड, बाबुराम, वैद्य, विप्लप एक ठाउँमा उभिनु पर्ने वताउनु भयो । उहाँले प्राप्त उपलब्धि रक्षा गर्न नसके हिजोको सिङ्गो माओवादी नेतृत्वले अपजस लिनु पर्ने वताउदै अब समाजवादी केन्द्र निर्माण गर्नु पर्ने धारणा राख्नु भयो ।
मन्त्रि श्रेष्ठले अहिले प्रदेश सरकार मकै वारिमा सुगा रूङ्न राखेको बुख्याँचा जस्तो भएकोले संघीयता कार्यान्वउनका लागि प्रदेशलाई बलियो वनाउनु पर्ने वताउँनु भयो । मन्त्रि श्रेष्ठले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक ऐन, कानून निर्माण गरिनु पर्ने वताउनु भयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्कालाई नगद पच्चीस हजारसहित जनपक्षीय पत्रकारिता पुरस्कार-२०८० ले सम्मान गरिएकाे थियाे ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा‚ प्रेस सेन्टर नेपालका केन्द्रिय इन्चार्ज महेश्वर दाहाल‚ नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारू मगर‚ प्रेस सेन्टर केन्द्रिय सचिव सुनिल खड्का लगायतले बाेलेका थिए ।