काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पारित ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। सभापति गगन थापाको अध्यक्षतामा शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको निर्णयप्रति स्वागत गर्दै पार्टी एकता, भावी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकाबारे स्पष्ट निष्कर्ष निकालेको हो।
बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएअनुसार आयोगको निर्णयलाई कसैको जित वा हारका रूपमा नभई विधि, संविधान र लोकतान्त्रिक अभ्यासको सफलता मानिएको छ।
बैठकले पूर्वसभापति देउवाले लामो समयसम्म पार्टी नेतृत्व सम्हाल्दै पुर्याएको योगदानको कदर गर्दै धन्यवाद प्रकट गरेको छ। साथै, आगामी दिनमा पनि उहाँबाट मार्गदर्शक र अभिभावकीय सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरिएको छ।
यसैगरी कांग्रेसले अबदेखि सत्तामुखी वा अप्राकृतिक राजनीतिक गठबन्धनमा नजाने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले आफ्ना मूल्य, सिद्धान्त र मान्यतामा दृढ रहँदै संविधानको संरक्षण तथा युवापुस्ताको अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ।
बैठकले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सबै तहका पार्टी समिति र भ्रातृ संस्थाहरूलाई एकताबद्ध भएर सक्रिय हुन आह्वान गरेको छ। यस चरणलाई ‘रूपान्तरण, एकता र विजयतर्फको नयाँ यात्रा’को रूपमा व्याख्या गर्दै विभिन्न कारणले निष्क्रिय भएका वा पार्टीबाट अलगिएका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरिएको छ।
निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिक ठहर गरेपछि बसेको उक्त बैठकले परिवर्तनको प्रक्रियामा साथ दिने सबै पक्षप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले बताएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू -
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित९हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश९विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३. विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन स् जोडिन यो वैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।
४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो वैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५. नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँनेछैन । हामि सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौ ।
६. यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको ।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस